द सिनेमा टाइम्स, काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको सिनेमा ‘मालती मंगले’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर अनुसार यो सिनेमा आगामी नयाँ वर्षको वैशाख २५ गते अर्थात् मे ८ देखि नेपालभर प्रदर्शनमा आउनेछ ।
सार्वजनिक पोस्टरले सिनेमाको मुख्य मर्म र पात्रको रसायनलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । पोस्टरमा सिनेमाका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ । विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् । रातो रंगको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्।
विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले सिनेमाले अग्र्यानिक माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ । सिनेमाका निर्देशक प्रकु पाण्डेयले यसलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन् ।
उनले भने, ‘यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर हेर्न सकिने सिनेमा हो । यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ ।’ सिनेमाको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा सागर ज्ञवाली र सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् ।
सिनेमामा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय छ ।
सिनेमाका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेज, रंग संयोजन कृष्ण भण्डारी, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ । सिनेमाको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्मस् हो ।



प्रतिक्रिया