द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘माया भनेकै यस्तै होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो ।
यो सिनेमामार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली र मालिका’ जस्ता सिनेमाच निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशनत हो । करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसपटक बाहिरी ब्यानरमा काम गर्न लागेकी हुन् ।
दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टिम रहनेछ । सिनेमामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसहित पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।
निर्माण पक्षले सिनेमाको घोषणसँगै दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले सिनेमामा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित प्रेम त्रिकोणको कथा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
दोस्रो पोस्टरमा अभिनेता दिल श्रेष्ठ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिलको भावले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ ।
सिनेमाको शीर्षक ‘माया भनेकै यस्तै होला’ले नै प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ । एकातिर बुढ्यौली अवस्थाको सेवा र अर्कोतिर युवापुस्ताको प्रेमलाई पोस्टरमा स्थान दिएर सबै वर्गका दर्शकलाई समेट्न खोजेको बुझिन्छ ।
सिनेमामा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको सिनेमाले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । सिनेमाको शीर्षकले नै प्रेमकथामा आधारित हुने प्रष्ट पार्छ ।
रंग पत्रकार ध्रुव लम्सालको कथा लेखन, सुदीप बराल डिओपी रहने सिनेमामा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे सिनेमा कोअर्डिनेटर, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् ।
निर्माण पक्षका अनुसार सिनेमाको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यो सिनेमालाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया