द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ । समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको ‘अरे हो नेता जी’ बोलको गीत मंगलवार ‘मुभिज् डिजीटेन्मेन्ट’को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा अभिनेता विजय बराल र गायक अंकित बाबु अधिकारीको स्वर रहेको छ । यो गीतमा संगीत अंकित बाबु अधिकारी र गीतकार युवराज काफ्ले हुन् । अभिनेता विजय बराल फिचर्ड गीतको भिडियोमा आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र यही हो विकास भन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ ।
मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को कथावस्तु मौलिक छ । सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान आइपुगुञ्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ पुगेपछि उत्पन्न हुने घटनालाई डार्क कमेडी माध्यमबाट देखाइनेछ । निर्देशकका अनुसार यो सिनेमामा फ्रिज गाउँ पुर्याउने कथामा मात्र सीमित नभई समाजका गहिरा यथार्थ उजागर गर्ने प्रयास हो ।
सिनेमाको निर्देशन एवं पटकथा तथा संवाद आकास बराल र साजन काफ्लेको छ । यो सिनेमाका कथाकार राजन भुसालले सिनेमामा अभिनय समेत गर्दैछन् । सिनेमाका कार्यकारी निर्माता मोती कार्की हुन् । निशाल पौडेलले छायांकन गर्ने सिनेमाको सम्पादन चानस मगर र कला निर्देशन रिक वेदले सम्हाल्नेछन् ।
पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।


प्रतिक्रिया