वर्षा सिवाकोटीले ‘कार्की साइँला’ छाडेपछि प्रियना आचार्य ‘मुन्नी’को प्रवेश

वर्षा सिवाकोटीले ‘कार्की साइँला’ छाडेपछि प्रियना आचार्य ‘मुन्नी’को प्रवेश

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन गरिएको छ । गत बैशाखमा अभिनेत्री वर्षा सिकावोटीलाई लिएर निर्माण घोषणा गरिएको यो सिनेमामा अब प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन् । यतिवेला वर्षा अर्को सिनेमा ‘कस्तुरी’को छायांकनमा व्यस्त रहेकाले सहमतिमै सिनेमा छाडेपछि निर्माताले उनको ठाउँमा प्रियनालाई अनुबन्धित गरेका हुन् ।

यो सिनेमामा प्रियनाको जोडी अभिनेता जितु नेपालसँग बाँधिनेछ । यसअघि ‘लाज शरणम्’, ‘झरीपछिको इन्द्रेणी’ र ‘कल्ली’मा काम गरिसकेकी उनी पहिलो पटक ‘कार्की साइँला’मा मुख्य भूमिकामा देखिन लागेकी हुन् । उनले सिनेमाको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न तयार भएको बताएकी छन् । उनी यो सिनेमालाई लिएर उत्साहित देखिएकी छन् ।

पूर्वी नेपालको जिल्ला धनकुटामा छायांकन हुने सिनेमामा जितु र प्रियनासहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहनेछ । ग्रामीण परिवेशमा निर्माण हुने सिनेमा भरियाको कथामा आधारित रहने जनाइएको छ ।

कर्ण बहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको निर्मातामा बालकुमार राई रहेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको सिनेमामा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहनेछ । म्युजिक भिडियो निर्देशकको रूपमा परिचित रोजल थापालाई सिनेमामा मुख्य सहायक निर्देशकको जिम्मेवारी दिइएको छ ।