द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ हल रिलिजको २ महिनामै निःशुल्क डिजिटल प्लेटफर्म युट्युबमा आएको छ । बिहीबार निर्माताले काठमाडौंका पूर्वमेयर तथा र्यापर बालेन शाहको युट्युब च्यानलबाट सिनेमा रिलिज गरेका हुन् । यो सिनेमामा बालेनले पनि एक गीत गाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीका उम्मेदवार शाहको युट्युब च्यानलबाट प्रतिनिधि सभा चुनावको संघारमा यो सिनेमा रिलिज गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालमा बढ्दो भ्रष्टचार, बेथिती र विसंगतिविरूद्धको कथावस्तुमा आधारित यस सिनेमाले चुनावमा ठूलो प्रभाव पार्ने देखिन्छ । कतिपयले यसलाई बालेनको चुनावी रणनीति समेत भनेका छन् ।
गत पुष ४ गते प्रदर्शन भएको ‘झरीपछिको इन्द्रेणी’ व्यावसायिक रूपमा सफल भएको थियो । यो सिनेमाले प्रदर्शन ५१ औं दिनको अवधिसम्म १ करोड २८ लाख ५२ रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्स अफिस तथ्यांकमा देखिन्छ । सिनेमाले ठिकठाक व्यापार गरेको भए पनि यसमा बालेनले गाएको ‘आम नेपाली बुबा’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको छ ।
नागराज इन्टरटेनमेन्टको व्यानरमा निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमामा अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् ।
अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाको छायांकन बुद्ध थापाले गरेका हुन् ।


प्रतिक्रिया