सिनेमा निर्माण नाफा मात्र होइन, जिम्मेवारी पनि हो : महेन्द्र अधिकारी

सिनेमा निर्माण नाफा मात्र होइन, जिम्मेवारी पनि हो : महेन्द्र अधिकारी

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता महेन्द्र अधिकारीका लागि ‘कुमारी’को व्यावसायिक असफलता एउटा ठूलो पाठ बनेको छ । उनी यस नतिजालाई लुकाउन चाहँदैनन्, बरु निर्मम समीक्षा गर्न तयार देखिन्छन् । उनी भन्छन्, ‘हरेक व्यवसायको उद्देश्य नाफा कमाउनु नै हुन्छ । तर, सधैँ सोचेजस्तो नतिजा नआउन सक्छ । यस्तो अवस्थामा समस्याको कारण पत्ता लगाएर समाधान गर्नुपर्छ ।’

एउटा सिनेमा असफल हुँदा त्यसमा लगानी गर्ने निर्मातालाई आर्थिक र मानसिक दबाब बढ्ने उनको अनुभव छ । उनी अगाडी भन्छन्, ‘सोचे अनुसार व्यापार नहुँदा निर्मातामा नकारात्मक असर त पर्छ नै । किनकि, सिनेमासँग जोडिएका कलाकारदेखि प्राविधिकसम्मको आशाको केन्द्रबिन्दु नै निर्माता हुन् । त्यसैले जब लगानी डुब्छ, तब निर्मातालाई चौतर्फी दबाब महसुस हुन्छ ।’

तर, महेन्द्र ‘कुमार्री’को व्यावसायिक असफलताबाट हतासिएका छैनन् । न त निराश र उदासीन छन् । बरु विगतका कमजोरीबाट सिक्दै अझ संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन् उनी । चाँडै नयाँ सिनेमा बनाउने योजनामा रहेका उनी भन्छन्, ‘विगतका सिनेमामा भएका कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्छु ।’

‘कुमारी’मा ठूलो लगानी गरेका कारण उनलाई बजारमा ‘आँटिलो निर्माता’ समेत भन्न थालिएको छ । तर, उनी यसलाई ‘आँट’भन्दा पनि पेसाप्रतिको इमानदारिता र जिम्मेवारी मान्छन् । ‘फिल्म निर्माण केवल लगानी मात्र नभएर रहर र जिम्मेवारी पनि हो,’ उनी भन्छन्, ‘दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो । मेरा दुई फिल्म ‘प्रकाश’ र ‘कुमारी’ यसका उदाहरण हुन् ।’

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीको लगानी र विकास सुवेदीको लेखन सिनेमा ‘कुमारी’मा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमामा छायांकन सुसन प्रजापति र सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको रहेको सिनेमामा साउन्ड डिजाइन उत्तम न्यौपानेको छ ।