द सिनेमा टाइम्स, काठमाडौं । छायांकनमा निस्कने तयारीमा रहेको सिनेमा ‘जिरो डिग्री’मा मुख्य अभिनेत्रीको भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले सिनेमाको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो ।
हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको सिनेमामा सनिशाको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बनेको छ । रङ्गमञ्च तथा सिनेमामा सशक्त अभिनयका लागि परिचित अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको सिनेमामा सनिशा र विजयको जोडीलाई पर्दामा देखिने हो वा अन्य भूमिका त्यो भने खुलाइएको छैन् ।
सिनेमाको प्रचार स्वरूप केही दिनअघि मात्र अभिनेता विजय बराल र गायक अंकित बाबु अधिकारीको स्वरमा रहेको ‘अरे हो नेता जी’ गीत सार्वजनिक गरिएको थियो । युवराज काफ्लेको शब्द र अंकित बाबु अधिकारीकै संगीत रहेको गीतमा समसामयिक राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिमाथि तिखो व्यङ्ग्य गरिएको छ ।
मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित सिनेमा हो । यसको कथावस्तु निकै मौलिक छ । सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूमा सिनेमा केन्द्रित रहनेछ ।
सिनेमाको निर्देशन तथा पटकथा आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन् । कथाकार राजन भुसालले सिनेमामा अभिनय समेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन् । निशाल पौडेलले छायांकन गर्ने सिनेमाको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।


प्रतिक्रिया