द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा सिनेमा ‘मोहर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । यो वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको ‘मोहर’को शुक्रबार निर्माता कम्पनी फिल्म मेकर्स प्रालिले थिम पोस्टर सार्वजनिक गर्दै ‘मोहर २’को निर्माण घोषणा गरेको हो ।
चुम्बन जंग शाही प्रस्तुतकर्ता रहने सिनेमाको छायांकन अर्को वर्षको मध्यतिर हुने जनाइएको छ । घरेलु बक्स अफिसमा ५ करोडमाथिको व्यापार गरेको ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको थियो । यसको सिक्वेलमा पनि उनीहरूलाई नै दोर्होयाउने योजना निर्माण टिमको छ ।
निर्देशक ओम प्रतीकका अनुसार पलसहितका कलाकारलाई दोर्होयाउने गरी अहिले स्क्रिप्ट लेखनमा काम भइरहेको छ । कलाकारको बारेमा निर्देशक भने, ‘सिनेमामा पुरानो कास्ट नै दोहोरिने सम्भावना धेरै छ । त्यही अनुसार स्क्रिप्टमा काम गरिरहेका छौं ।’ मोहरको प्रिक्वेलको रूपमा ‘मोहर २’ निर्माण हुनसक्ने संकेत निर्देशक प्रतिकले दिए ।
देउकी प्रथामा आधारित ‘मोहर’मा पल, बेनिशा र नीतिको अभिनयको दर्शकहरूले निकै प्रशंसा गरेका थिए । यो नीतिको करिअरकै पहिलो सफल सिनेमा समेत हो । पलले पनि मुख्य अभिनेताको रूपमा जेल जीवनपछि पाएको यो पहिलो सफल सिनेमा थियो । अर्की अभिनेत्री बेनिशा हमालको ‘छक्का पञ्जा ४’ पछिको यो दोस्रो हिट सिनेमा हो ।


प्रतिक्रिया