द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक चन्द्र पन्तले गत माघ १६ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘आ बाट आमा’को दोस्रो श्रृंखला निर्माण घोषणा गरेका छन् । यस वर्षको सुपरहिट सिनेमा ‘आ बाट आमा’को दोस्रो श्रृंखला ‘आ बाट आमा २’को निर्माण घोषणा आज आइतबार परेको अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गरिएको हो ।
निर्माण कम्पनी आर्या इन्टरटेन्मेन्टले आइतबार एक पोस्टर सार्वजनिक गर्दै ‘आ बाट आमा २’ निर्माणको घोषणा गर्दै वर्ष २०८३ को विजयादशमी अर्थात् दशैंमा प्रदर्शन हुने जानकारी दिएको छ । आइतबार सार्वजनिक यो पोस्टरमा ‘रियल सुपरस्टार’को ट्याग दिँदै पललाई मात्र प्रस्तुत गरिएको छ ।
अभिनेता पल शाह लामो कपाल (विग) सहित धुस्रैफुस्रै देखिएका छन् भने खुट्टाको गोलीगाँठाबाट रगत बगेको छ । उनको हुलिया हेर्दा सिनेमामा उनी मानसिक रूपमा विचलित पात्रको भूमिकामा प्रस्तुत हुने अनुमान लगाउन सकिन्छ । पोस्टरको पृष्ठभूमिमा भने उनी मुस्कुराइरहेका देखिन्छन् ।
सार्वजनिक पोस्टरमा सिनेमालाई दशैंको जमरा र आमाको पर्खाइको कथा भनिएको छ । सिनेमाको ट्यागलाइन राखिएको छ, ‘आउँछु भन्ने एउटा झुटो आशामा आमा वर्षेनि जमरा छरिरहन्छिन् ।’ यसले सिनेमाको कथा सन्तानप्रति आमाको माया र दशैंको परिवेशमा आधारित रहेको प्रस्ट पार्छ । चन्द्र पन्तले निर्देशन गर्ने यो सिनेमामा ‘आ बाट आमा’कै धेरैजसो कलाकार दोहोरिने जनाइएको छ ।
गत माघ १६ गते प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा ११ करोडको व्यापार गरिसकेको छ । चुनावअघिसम्म सिनेमाले १२ करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । बाबुआमा र सन्तानबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित यो सिनेमाले विशेषगरी हलमा पारिवारिक दर्शक तानिरहेको छ ।



प्रतिक्रिया