द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी चैत २७ गतेबाट प्रदर्शन आउन लागेको सिनेमा ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा बाबुल गिरी र रचना रिमालको स्वर तथा डाक्टर डीआर उपाध्याय खनालको शब्द रचना अनि गायक गिरीको संगीत छ ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य जोडी विराज भट्ट र सुपुष्पा भट्ट देखिएका छन् । गीतमार्फत विराजले सुपुष्पालाई आफ्नो बनाउने इच्छा व्यक्त गरेका छन् भने सुपुष्पाले आफ्नो फक्रिँदो जोवन सुम्पने वाचा गरेकी छन् । यो गीतको भिडियोमा एकअर्काको मायामा समर्पित जोडीको भावनालाई प्रस्तुत गरिएको छ ।
पहिलो पटक सिनेमामा सहकार्य गरेका विराज र सुपुष्पाको केमेस्ट्रीले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । एक्सन लभस्टोरी कथामा निर्माण भएको सिनेमामा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्वर्गिय सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, आशा पौडेल लगायतका कलाकारको अभिनय छ । चर्चित टिकटकर आयुषको यो डेब्यु सिनेमा हो ।
माइकल चन्दको लेखन तथा निर्देशन रहेको सिनेमामा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् भने कार्यकारी निर्माताहरू किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । सिनेमामा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड म्युजिक, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ ।


प्रतिक्रिया