द सिनेमा टाइम्स, काठमाडौं । फागुन १५ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रवासी जीवन’को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । यो गीतमा गायक प्रमोद खरेलको स्वर र शब्द रचना सौरभ तिम्सिना तथा संगीत नबिन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा अमृत बिस्वाको सिनेम्याटोग्राफी र सम्पादन राम अधिकारीको छ ।
प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । यो सिनेमामा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षसहितको प्रवासी जीवनको कथा रहेको छ ।
यो सिनेमालाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर सिनेमा निर्माण गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत सिनेमाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुनेमा निर्देशक क्षेत्री विश्वस्त देखिए ।
सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपालको सहकार्य रहेको सिनेमामा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् ।
अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायांकन गरिएको सिनेमालाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् । छायाँकार रविन आचार्यले यो सिनेमा निर्माण गरेका हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
सिनेमामा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व संगीत, देवी खतिवडाले शृङ्गार, राज शंकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले संगीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् । यो सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया