द सिनेमा टाइम्स, काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘मितज्यू’को छायांकन सकिएको छ । यो सिनेमाको छायांकन एक महिनामै सकिएको हो ।
वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन थालिएको थियो । सुटिङ थालेको एक महिना मै सिनेमाको सुटिङ कार्य सकिएको निर्माता जनक घर्ती मगरले बताए । निर्माताका अनुसार कलाकार र प्राविधिक पक्षले सहज तरिकाले काम गरेपछि तोकिएकै समयमा सिनेमाको छायांकन सकिएको हो ।
सिनेमामा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ । यो सिनेमाबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।
यो सिनेमा सामाजिक कथावस्तुमा आधारित हो । दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको सिनेमाको छायांकन रमाइलो गरि नै सकिएको निर्देशक अनिल बुढा मगरले बताए । निर्देशक मगरको यो दोस्रो सिनेमा हो । यसअघि उनले सिनेमा ‘घरज्वाइँ’ निर्देशन गरेका थिए । जुन बक्सअफिसमा सफल भएको थियो ।
सिनेमाको पोडक्सन म्यानेजर धन बहादुर राई (भान्जा), मुख्य सहायक निर्देशक फिरोज खड्का, सहायक निर्देशक अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई, प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे, कार्यशाला भोलाराज सापकोटाले गरेका छन् ।
यो सिनेमामा प्रभात विष्टको द्वन्द्व निर्देशन, नवीन श्रेष्ठको साउन्ड डिजाइन, श्रीकृष्ण बम मल्लको संगीत तथा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर छ । आरआर फिल्म्स वितरक रहेको यो सिनेमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ।



प्रतिक्रिया