द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को फर्स्टलुक्स सार्वजनिक भएको छ । बिहिबार निर्माण टिमले सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन पात्र सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा फिचर्ड छन् ।
यो पोस्टरमा तीनै पात्र गम्भीर भावमा देखिन्छन् । जहाँ सुहानाको सिउँदोमा सिन्दुर, अनि निधारमा टीका लगाएपनि उनी खुशी छैनन् भन्ने भाव पोस्टरमा झल्किन्छ । यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यी तिनै पात्रले सिनेमाको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमामा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने अनुमान गरिएको छ । पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतको अभिनय छ । सुशील पोखरेलको लगानी रहेको सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् ।
सिनेमामा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग सयोजन, समिर मिया र सत्यम रानाको भिएफएक्स, टिजर तथा ट्रेलर सम्पादन साहिल खान, नगेन्द्र घिमिरे निर्माण संयोजन, ईश्वर घिमिरे निर्माण नियन्त्रक, किरण तुलाधरको पाश्र्व संगीत, शान्ती ठटाल, सत्य-स्वरुप, प्रकाश सपुतको संगीत रहेको छ ।
आइडियल डिजाइनर्सले पोस्टर डिजाइन गरेको सिनेमाका निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल हुन् । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स ओएसआरले लिएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रह ‘परालको आगो’मा यसअघि प्रताप सुब्बाले पनि सिनेमा निर्माण तथा निर्देशन गरेका थिए ।


प्रतिक्रिया