द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी छन् । बिहीबार काठमाडौंस्थित निजी निवासमा उनले ओजस नाम गरेका युवकसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको थियो ।
विवाहमा नम्रताले लालीगुराँस अंकित परम्परागत पहिरन र शिरमा शिरफूल लगाएकी छन् भने उनका श्रीमान् शेरवानीमा ठाटिएको तस्वीरमा देख्न सकिन्छ । नम्रताले बुधबार साँझ मेहन्दी समारोहको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन् । तर, उनले श्रीमानबारे कुनै जानकारी दिएकी थिइनन् ।
नम्रता सापकोटाले २०७८ सालमा दिएको एक अभिव्यक्तिका कारण समाजिक सञ्जालमा चर्चामा आएकी थिइन् । त्यो वेला उनले अबको ३/४ वर्षमा आफ्नो विवाह नभए बच्चा पनि जन्माउने बताएकी थिइन् । सन् २०१३ मा प्रदर्शनमा आएको सिनेमा ‘अन्तराल’बाट डेब्यु गरेकी नम्रताले अहिलेसम्म एक दर्जनभन्दा बढी सिनेमामा अभिनय गरिसकेकी छन् ।
नम्रता पछिल्लो पटक राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’मा देखिएकी थिइन् । उनले अभिनय गरेका दर्जन सिनेमामध्ये करिअरको एउटा मात्र हिट सिनेमा ‘छक्का पञ्जा’ हो । यसमा नम्रताले अभिनेता जितु नेपालको जोडी बनेर अभिनय गरेकी थिइन् । त्यसबाहेक उनले करिब दुई दर्जनबढि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।


प्रतिक्रिया