द सिनेमा टाइम्स, काठमाडौं । गत सोमबार छायांकन सकिएको सिनेमा ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले गत वर्षको माघमा सिनेमाको निर्माण घोषणा गर्दा सार्वजनिक गरेको पेन्टिङ पोस्टरमा आधारित रहेर फर्स्टलुक तयार पारेको हो । सिनेमाका तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई पोस्टरमा देख्न सकिन्छ ।
दयाहाङ र सौगातबीच पञ्जा लडाइँको दृश्य समावेश पोस्टरमा तेरिया भने मालवहाक गाडीको बोनटमाथि बसेकी छन् । मगर समुदायको मौलिक पहिरनमा प्रस्तुत भएकी उनी रिसाएको भावमा देखिएकी छन् । पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरले सिनेमाको कथावस्तु त्रिकोणत्मक प्रेम, पात्रहरूको आत्मसम्मानको लडाइँ र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ ।
अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको लगानीमा निर्माण भएको सिनेमामा दयाहाङ, सौगात र तेरियासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, प्रभात विष्टको द्वन्द्व निर्देशन, नवीन श्रेष्ठको साउन्ड डिजाइन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । आरआर फिल्मस्ले देशभर वितरण गर्ने सिनेमा आगामी वर्षको जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउनेछ ।



प्रतिक्रिया