द सिनेमा टाइम्स, काठमाडौं । यौनकर्मीसँग २० वर्षदेखि प्रत्यक्ष जोडिएर काम गरे पश्चात सिनेमा ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ ।
बिहीबार हात्तिसारमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर सिनेमा बनाउने निर्णय लिएको बताए ।
उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । सिनेमा बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो ।’ यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न ‘लालिमा’ निर्माण गरिएको निर्देशक रोशन मिराज बताउँछन् ।
विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको काम गरिरहेका कारण आफू यो सिनेमामा अनुबन्धित भएको अभिनेत्री उषा रजकले बताइन् । ‘कसैको पीडालाई सिनेमा निर्माण गर्ने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो सिनेमाको कलाकार बन्न तयार भएँ,’ उनले भनिन् ।
समस्या परेका यौनकर्मीको आवाज बनेर सिनेमामा देखिन पाउने अवसर गुमाउन नचाहेका ‘लालिमा’मा काम गरेको शीर्ष अभिनेत्री रोशनी कार्कीले बताइन् । ‘समाजले यौनकर्मीहरूले मानवको दर्जासमेत दिएको छैन । यो सिनेमाको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो सिनेमामा जोडिएको हो,’ उनले भनिन् ।
फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रोशनी र उषासहित जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् । आगामी फागुन २९ बाट प्रदर्शनमा आउने सिनेमाको कार्यकारी निर्माता रीना लामा हुन् । यो सिनेमाको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ ।


प्रतिक्रिया