द सिनेमा टाइम्स, काठमाडौं । फागुन २१ गते हुने संसदीय निर्वाचनका कारण नेपाली सिनेमाका गतिविधि शून्यप्रायः रहेका बेला सिनेमा ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा उक्लेको छ ।
शनिबार सार्वजनिक सिनेमाको ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको सिनेमातर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो । लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको सिनेमामा अभिनेत्री रोशनी कार्की शीर्ष भूमिमामा छन् ।
सिनेमामा रोशनसहित जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको अभिनय छ । यी सबै पात्रलाई सिनेमाको सार्वजनिक ट्रेलरमा समेटिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘लालिमा’ फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
सार्वजनिक ट्रेलरमा अभिनेत्री रोशनी कार्कीलाई केन्द्र भागमा राखिएको छ । उनलाई स्पष्टरुपमा यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र अभिनेता जीवन प्रेमसम्बन्धमा रहेको बताउँछ । यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उतारचढावको कथामा सिनेमा बनेको ट्रेलरले संकेत गर्छ । ट्रेलरको अन्तिममा रोशनी मानसिक समस्यामा परेको देखिन्छ ।
अभिनेत्री रोशनी भन्छिन्, ‘हाम्रो सिनेमाले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’
अर्की अभिनेत्री उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । सिनेमामा ‘लालिमा’की आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले बताएको छ । ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत् सिनेमाप्रति सन्सपेन्स छाडेको छ ।
फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो सिनेमा वितरण गर्दैछ ।


प्रतिक्रिया