द सिनेमा टाइम्स, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीप्रधान सिनेमा ‘टिकाः स्टेटलेस सोल’को निर्माण घोषणा गरिएको छ । नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको सिनेमालाई शंकर कार्कीले निर्देशन गर्नेछन् ।
भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आई आट्र्स प्रालीको सहकार्यमा निर्माण घोषणा गरिएको सिनेमाको आइतबार सार्वजनिक गरिएको थीम पोस्टरमा ‘टिका’लाई रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ । जसले सिनेमामा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गर्छ ।
यो वर्षको सुपरहिट सिनेमा ‘जेरी अन टप’ निर्मात्री भविष्य खड्काको लगानी रहने सिनेमामा मुख्य भुमिकामा अभिनेता महेश त्रिपाठी र अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी, निर्मल शर्मा र बाल कलाकार आयुशी ढकाल अनुबन्धित भइसकेका छन् । अन्य कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको सिनेमाका कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।
सिनेमा ‘टिकाः स्टेटलेस सोल’ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोल्नेछ । सिनेमाले सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतीकरणमार्फत दर्शकलाई फरक अनुभव दिलाउने निर्माण टिमको अपेक्षा छ ।
चन्दन झा र निर्देशक कार्कीको कथा लेखन रहेको सिनेमाको पटकथा रामकुमार श्रेष्ठले तयार पारेका हुन् । सम्पूर्ण ‘कास्ट एण्ड क्रू’ तय भइसकेपछि औपचारिक घोषणासहित सिनेमाको छायांकन प्रारम्भ हुने र सोहि समयमा प्रदर्शन मिति समेत घोषणा गरिनेछ ।



प्रतिक्रिया