‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ टिकटक तथा रिल्समा भाइरल, युट्युबमा कति मिल्यो भ्युज ?

‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ टिकटक तथा रिल्समा भाइरल, युट्युबमा कति मिल्यो भ्युज ?

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्रको २७ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत रिलिज भएको १३ दिन भयो । तर, यो गीतले युट्युब र सामाजिक संजाल टिकटक तथा रिल्समा हंगामा मच्चाइरहेको छ ।

निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको छ । यो गीतलाई सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ । दर्शकले यो गीतमा लाख भन्दा बढी टिकटक बनाइसकेका छन् । जसकारण, सिनेमाको व्यापारमा यो गीतले निकै फाइदा दिने देखिन्छ ।

यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको यो गीतमा सिनेमाका मुख्य अभिनेता विराज भट्ट र अभिनेत्री सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।

सिनेमाको सार्वजनिक गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिएका छन् । । ‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए । तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं । आज दर्शकको मुखमा गीत झुन्डिएको छ । लाखौं टिकटक बनेका छन् । यसले, हामीलाई उत्साहित बनाएको छ,’ उनले भने ।

सिनेमामा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । सिनेमालाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ । यो सिनेमाले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ ।

माइकल इन्टरटेनमेन्ट हाउसको व्यानरमा निर्माण भएको सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार सिनेमाका कार्यकारी निर्माता हुन् । माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण भएको यो सिनेमाको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको सिनेमाका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको सिनेमामा माइकल चन्दकै कथा र पटकथा छ । यो सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्धन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको सिनेमामा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर, स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।