द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘एक मुठी बादल : माई सेयर अफ स्काई’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतरबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ १ गते अर्थात् मे १५ तारिकलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन मिलेर निर्माण गरेको सिनेमाको लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको छ । तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने सिनेमाले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ।
सिनेमामा सहारा शर्माको लेखन तथा निर्देशन छ । अमेरिकाको न्युयोर्क बस्दै आएकी उनले यसअघि ‘चेजिङ रेन्बोज’ शीर्षकको सिनेमा निर्देशन गरेकी थिइन् जुन सिनेमा सन् २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन सिनेमा महोत्सवको ओपनिङ सिनेमा थियो ।
फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पानोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन् । ‘एक मुठ्ठी बादल’ले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । युरोपियन पोस्ट-प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली सिनेमाको रुपमा इतिहासमा नाम लेखाएको छ ।
यो बाहेक विश्वका प्रतिष्ठित ल्याबसँग सहकार्यको अवसर पाएको थियो । २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडीसी सिनेमा बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए । फ्रान्सको कान्स सिनेमा महोत्सवमा मार्चे डु सिनेमासँग सम्बन्धित कार्यक्रम, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको थियो ।
सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् । जर्मनीमा बसोबास गर्ने फाजिलातले आफ्नो कम्पनी थर्ड कल्चर किड्स मार्फत् युरोप र एसियाभरि अन्तर्राष्ट्रिय स्तरमा केन्द्रित सिनेमा र उदीयमान सिनेमा निर्मातालाई सहयोग गर्दै आएकी छिन् ।
सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको अभिनय छ । आँचलले माइली चरित्रको रुपमा केन्द्रीय भूमिका निर्वाह गरेकी छिन् भने अनुभवी अभिनेत्री निशा तीन दशकभन्दा बढी समयपछि सिनेमाको अभिनयमा फर्किएकी छिन् । उषा रजक आँचलको दिदीको भूमिकामा रहेकी छिन् ।
निर्माणमा अन्तर्राष्ट्रिय सिनेमाकर्मीको पनि सहभागिता छ । छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन्, जसले फिचर सिनेमा छायांकन गर्ने पहिलो भियतनामी महिलाको रूपमा इतिहास रचेकी थिइन् र यो उनको सातौं फिचर सिनेमा हो । प्रोडक्सन डिजाइन भारतकी यशस्वी सभरवालले गरेकी हुन्, जसको ‘अल वि इम्याजिन एज लाइट’को कामले कान्समा ग्रान्ड प्रिक्स जितमा योगदान पुर्याएको थियो ।
सिनेमाको सम्पादन भारतीय सम्पादक दीपा भाटियाले गरेकी हुन्, जो ‘तारे जमिन पर’मा आफ्नो कामको लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छिन् । कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइटले गरेको हो । नेपालबाट अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप, मर्णा जेम्स मुख्ख सहायक निर्देशक र सहायक निर्देशकमा शर्मिला आले र मीरा खड्का छन् ।



प्रतिक्रिया