द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु गरिएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन ३ गते निर्माण घोषणा गरिएको यो सिनेमाको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कमा पहिलो दृश्य खिचियो ।
सिनेमाका लागि पहिलो शट अभिनेत्री नीति शाह र अभिनेता तथा निर्माता दिल श्रेष्ठले दिएका छन् । यो सिनेमाबाट रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन् । यी दुवै सिनेमामा उनको मुख्य भूमिका समेत रहेको थियो । तर, यसपटक उनी अभिनयमा नभइ पूर्ण रूपमा निर्देशनमा केन्द्रित रहनेछिन् ।
यो सिनेमामा नेपाली समाजमा घटेका घटनालाई प्रस्तुत गरिने निर्देशक थापाले बताएकी छन् । यसमा नयाँ र पुराना पुस्ताका कलाकारहरूलाई समेटिएको छ । नीति र दिलसहित मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको स्क्रिप्ट रंग पत्रकार ध्रुव लम्सालले लेखेका हुन् । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको सिनेमामा सुदीप बराल छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यसमा रंग पत्रकार राजन घिमिरे को-अर्डिनेटरको रूपमा छन् ।
सिनेमाले प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । यो सिनेमालाई आगामी वर्षको तीजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया