द सिनेमा टाइम्स, काठमाडौं । सुनिल पाण्डेको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘मुक्तिपुर’ शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । मंगलबार काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा र गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजा गर्दा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो ।
साहिबा फिल्मस् प्रोडक्सन र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुने सिनेमाका निर्देशक पाण्डे विभिन्न छोटा सिनेमा र वृत्तचित्र निर्देशनको अनुभवसहित ‘मुक्तिपुर’बाट ठुलोपर्दामा डेब्यू गर्न लागेका हुन् । सिनेमाको कथापनि निर्देशक पाण्डेकै हो । पछिल्लो १० वर्षदेखि सिनेमा अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनी शिक्षा प्रदान गर्दै आएको एभरेष्ट कलेजले पहिलोपटक निर्माणमा पाइला अघि बढाएको हो ।
विजय राजवंशी र रोशन पासवान निर्माता रहेको सिनेमामा विशाल श्रेष्ठ कार्यकारी निर्माता तथा केशव गौतम सह-निर्माता हुन् । सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको सिनेमामा सम्राट बस्नेत द्वन्द्व निर्देशक, छायांकन सरद महतो, कला निर्देशक अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारी छन् ।
बदलाको कथामा एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलता सिनेमाले देखाउने निर्देशक पाण्डेले बताए ।
अभिनेता नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको मुख्य भूमिका रहने सिनेमाबाट आकृति बुढाथोकीले नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । अनुभवी निर्माण टिम र कलाकारको लाइनअपमा जोडिनु आफ्नो लागि ठुलो उपलब्धि भएकाले आफ्नो पात्रलाई न्याय दिने विश्वास आकृतिको छ ।
अभिनेता नाजिर हुसेनले ‘मुक्तिपुर’ आफ्नो करियरको महत्वपूर्ण इट्टा रहने आत्मविश्वाससहित सिनेमामा जोडिएको बताए । ‘हरेक सिनेमा मेरो लागि नयाँ होस् भन्ने चाहन्छु,’ उनले भने, ‘यो सिनेमाले मेरो विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकलाई पस्किनेछ ।’
सिनेमामा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वयम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरीको अभिनय रहनेछ ।
काठमाडौं र नेपालगञ्जमा खिचिने सिनेमा ४० दिनको सेड्युलसहित फ्लोरमा निस्किएको हो । सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् । सिनेमाका कार्यकारी निर्माता श्रेष्ठले छायांकन सम्पन्न भएको मितिले ६ महिनभित्र प्रदर्शनमा ल्याउने लक्ष्यसहित आफुहरू फ्लोरमा निस्किएको बताउँछन् ।




प्रतिक्रिया