नीर शाह निर्देशित ‘कमला मिस’को छायांकन २३ दिनमा सकियो

नीर शाह निर्देशित ‘कमला मिस’को छायांकन २३ दिनमा सकियो

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता नीर शाहको निर्देशनमा निर्माण भएको सिनेमा ‘कमला मिस’को छायांकन सकिएको छ । मंगलबार ललितपुरको एक गाउँमा अन्तिम दृश्य खिचिएसँगै २३ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । लाइन प्रोड्युसर पुस्कर लामाका अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण तीन दिन छायांकन प्रभावित भएपनि निर्धारित समयमै काम सकिएको छ ।

बाल मनोविज्ञानमा आधारित सिनेमामा निर्देशक शाहसहित रमेश बुढाथोकी, बासना तिमल्सेना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको निर्माण विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले गरेकी हुन् ।

उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माता रहेको सिनेमाको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद प्रजल दुलाल, सुगम दुलाल र निर्देशक शाहले संयुक्त रूपमा तयार पारेका हुन् । सिनेमामा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले गरेका हुन् ।

यो सिनेमा स्वर्गीय साहित्यकार विजय मल्ले सन् १९६९ मा प्रकाशित गरेको चर्चित नाट्यकृति ‘कोही किन बर्बाद होस्’को कथाबाट प्रेरित छ । प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्वको कथा सिनेमामा समेटिएको छ । निर्माण पक्षले सिनेमालाई आगामी वर्ष प्रदर्शन गर्ने योजना बनाएको छ ।