द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सकिएसँगै हलमा नयाँ सिनेमा रिलिज हुने क्रम सुरु भएको छ । यसको सुरुवात आज फागुन २९ गते शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘लालिमा’बाट भएको हो ।
तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित सिनेमाले देशभर ६० भन्दा बढी शो पाएको छ । एकल रिलिजको अवसर पाएको सिनेमाले दर्शकलाई आकर्षित गर्न अफर समेत ल्याएको छ । खल्ती एपबाट सिनेमाको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ । यो अफरले सिनेमाको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास निर्माण टिमको छ ।
बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरीले गर्ने संघर्षको कथामा सिनेमा आधारित रहेको जनाइएको छ । यो सिनेमामा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् ।
सिनेमामा रोशनीसहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारको अभिनय रहेको छ । रोशन मिराजको लेखन तथा निर्देशन रहेको सिनेमालाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् । यसमा रोविन शर्मा दाहालको छायांकन तथा गौतम राज खड्काको सम्पादन छ ।


प्रतिक्रिया