द सिनेमा टाइम्स, काठमाडौं । एक्सनप्रधान सिनेमा ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टलाई केन्द्रमा राखिएको सिनेमाको २ मिनेट लामो टिजर एक्सन दृश्यले भरिएको छ । विराज सयौं भिलेनसँग लडिरहेका देखिन्छन् । सिनेमाको सार्वजनिक टिजरमा प्रोडक्सन भ्यालु उच्च देखिएको छ भने एक्सनलाई साउथ शैलीमा खिचिएको छ ।
नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शन हुन लागेको टिजरको सुरूवातमै विराजको संवाद छ, ‘मृत्युलाई सारथी ठान्ने म, पहिलो पटक डराएँ । जब आँखै अगाडि आफ्ना मान्छेहरू गुमाएँ ।’ यो संवादमार्फत निर्देशकले सिनेमाको कथावस्तु बुझाउन खोजेको देखिन्छ । आफ्नालाई गुमाएपछि नायक पात्रले लिने बदलामा सिनेमा आधारित रहेको यसले स्पष्ट संकेत गर्छ । टिजरमा विराजलाई पश्चिमेली भाषा बोलेको पनि देख्न सकिन्छ ।
कोरियोग्राफरको रूपमा परिचित म्युजिक भिडियो निर्देशक माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व। सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ । टिजरमा यी सबै कलाकारलाई देख्न सकिन्छ । तर, विराज र सुनिलबाहेक अरूको संवाद भने राखिएको छैन् ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने क्रियटिभ निर्माता मोती कार्की हुन् । सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।


प्रतिक्रिया