द सिनेमा टाइम्स, काठमाडौं । देवप्रसाद धिमालको निर्देशनमा निर्माण हुने सिनेमा ‘टेम्केः द डेस्टिनेसन’को निर्माण घोषणा गरिएको छ । अभिनेता शिव श्रेष्ठलाई मुख्य भूमिका रहने सिनेमाको गत शुक्रबार काठमाडौंस्थित भन्द्रकाली मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै शुभमुहूर्त गरियो । यो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्त सटको निर्देशन गरेका थिए ।
आरडीएस नेपालको ब्यानरमा निर्माण हुने सिनेमाबाट धिमालले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । धिमाल स्वयं निर्माता रहेको सिनेमामा पंकज सरदार सह–निर्माता तथा सञ्चारकर्मी भोला सुवेदी (प्रणव), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्मातामा रहेका छन् ।
सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा शिवसहित अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाँल, रविना दुलाल लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाको छायांकन नरेश ऐयरले गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी राजु किराँतले सम्हाल्नेछन् ।
डेव्यु निर्देशक धिमालका अनुसार नेपाली समाजमा घटेका यथार्थ घटनालाई सिनेमामा रोचक शैलीमा प्रस्तुत गरिनेछ । टेम्के पात्रको संघर्षको कथामा सिनेमा आधारित रहने उनको भनाई छ । निर्माण पक्षले सिनेमाको छायांकन आगामी चैतको दोस्रो सातादेखि सुरु गर्ने योजना बनाएको छ । सिनेमाको छायांकन काठमाडौं र भोजपुरका विभिन्न स्थानमा हुनेछ ।



प्रतिक्रिया