द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘मितज्यू’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि आगामी जेठ १५ गते रिलिज हुने भनिएको सिनेमा अब एक हप्ता अगाडी जेठ ८ गते नै प्रदर्शनमा आउने भएको हो ।
डान्सर समेत रहेकी अभिनेत्री तेरिया फौजा मगरको डेब्यु सिनेमा ‘मितज्यू’को आइतबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै जेठ ८ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । अहिलेसम्म यो मितिमा ‘मितज्यू’लाई सोलो रिलिजको अवसर छ । सिनेमाको नयाँ पोस्टरमा कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देललाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक पोस्टरमा दयाहाङ घाइते अवस्थामा देखिएका छन् भने सौगात कुखुराको भाले बोकेर खुसी मुद्रामा कतै हेरिरहेका देखिन्छन् । तेरिया मजेत्रोले टाउको बेरेर सोचमग्न देखिएकी छन् । यो पोस्टरले सिनेमाको कथा सामाजिक सम्बन्धमा आधारित रहेको संकेत गर्छ ।
अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको लगानी रहेको सिनेमामा दयाहाङ, सौगात, शिशिर र तेरियासहित पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय छ ।
सिनेमामा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, श्रीकृष्ण बम मल्लको संगीत, मुकेश शाहको साउन्ड डिजाइन, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक, मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा प्रभात विष्ट र सुरज श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको देशव्यापी वितरण आरआर फिल्मस्ले गर्दैछ ।



प्रतिक्रिया