नयाँवर्षको दिन रिलिज हुने तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक

नयाँवर्षको दिन रिलिज हुने तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ । नयाँवर्षको दिन अर्थात् आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमामा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

निर्देशक घिमिरेले वितरकसँग छलफल गर्दै नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर आगामी वैशाख १ मा सिनेमाको प्रदर्शन तय गरिएको जानकारी दिए ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’मा कास्ट गरेका छन् । सिनेमालाई प्रमोद प्रधानले छायांकन गरेका हुन् । भारतमा सिनेमा, वेबसिरिज र टेलीसिरियल छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका सिनेमामा सहकार्य गरेका थिए ।

‘सिनेमाको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ । यसपटक दर्शकसँगै यो सिनेमा घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले भने ।

भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भएकोे सिनेमामा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यही सिनेमामार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् । सिनेमाको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको सिनेमामा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता तथा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । सिनेमामा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन् । नेपालमा व्यांकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्ले वितरण गर्नेछ ।

सिनेमामा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ । सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।