द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायिका अरुणा लामाको कालजयी गीतमध्ये एक ‘उडी जाऊँ भने म पन्छी होइन’ले चार दशकपछि पुनर्जीवन पाएको हो ।
सन् १९७९ मा प्रदर्शनमा आएको सिनेमा ‘परालको आगो’मा समावेश गीत सोही नाममा बनेको नयाँ सिनेमामा पुनः रेकर्ड गरेर राखिएको छ । सोमबार यो गीत ओएसआर डिजिटलको युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो ।
मान बहादुर मुखियाको शब्द तथा शान्ति ठटालको संगीत रहेको गीतमा निशु शर्माले स्वर दिएकी छन् । संगीत संयोजन विनोद भुजेलले गरेका हुन् । निशुले अरुणाकै शैलीलाई पछ्याउने प्रयास गरेकी छन् भने विनोदले पनि पुरानो गीतको भाव र मिठासलाई जोगाउँदै नयाँ पुस्ता सुहाउँदो संगीत संयोजन गरेका छन् । यो गीतले अघिल्लो पुस्ताका दर्शकलाई नोस्टाल्जिक बनाउँछ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू सुहाना थापा र प्रकाश सपूतलाई फिचर्ड गरिएको छ । सुहानाले हाउभाउ र भावभंगीमार्फत गीतको भावलाई जीवन्त बनाएकी छन् । युट्युबमा गीत रिलिज भएसँगै उनकै अभिनयको प्रशंसा भइरहेको छ । सिनेमामा उनले ग्रामीण महिलाको भूमिकामा अभिनय गरेकी छन् ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमामा सुहाना र प्रकाशसहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बाँनिया लगायतका कलाकारहरूले अभिनय गरेका छज् । हरिओम सिने मेकर्सका सुशील पोखरेलले निर्माण गरेको सिनेमामा सुशील देवकोटाको लेखन रहेको छ ।
आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको सिनेमामा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।


प्रतिक्रिया