द सिनेमा टाइम्स, काठमाडौं । वसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पाँच पाण्डव’को छायांकन सुरु गरिएको छ । सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा र स्क्रिप्ट पूजा गरेसँगै छायांकन थालिएको हो । ४० दिनको छायाकंन तालिका तय गरिएको यो सिनेमाको अधिकांश दृश्य झापा जिल्लामा खिचिने बताइएको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)को मुख्य भूमिका रहनेछ । यसअघि सिनेमामा सिताराम कट्टेल -धुर्मुस)को पनि अभिनय रहने बताइएको थियो । तर, हाल अमेरिकामा रहेका उनी तत्काल नेपाल नफर्किने भएपछि निर्माण पक्षले उनको ठाउँमा महेश त्रिपाठीलाई लिएको बताइएको छ ।
निर्देशक निरौलाले सिनेमाको शीर्षक ‘पाँच पाण्डव’ भएपनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको बताए । उनका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । सिनेमामा महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको यथार्थ कथा भनिने लेखक सुशील पौडेलले बताए ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा काली रानी श्रेष्ठ निर्मातामा छिन् । दीपाश्री निरौला र रजनी गुरुङको पनि अभिनय रहने सिनेमाको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । पेसाले रंग पत्रकारसमेत रहेका पौडेल ‘प्रसाद’का लेखक समेत हुन् । डल्बी एट्मस साउन्ड प्रविधिमा तयार पारिने सिनेमालाई श्याम तामाङले छायांकन गर्नेछन् ।




प्रतिक्रिया