‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकले रुचाए

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकले रुचाए

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’को सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतलाई हालसम्म १४ लाख बढि दर्शकले युट्युबमा हेरिसकेका छन् ।

सार्वजनिक गीतले लोकप्रियता पाएसँगै टिकटक तथा रील्स हेर्ने दर्शकको रोजाईमा परेको छ । यो गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामाजिक सञ्जालमा ब्यापक भैरहेको छ । उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् ।

ती सञ्जालका एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ । टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्दहरू देख्न सकिन्छ । प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन् । उनीहरूले सिनेमामा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन् ।

अभिनेत्री खड्काले यो गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीचमा गरिएको बताइन् । ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको अभ्यास गर्थौं । बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ,’ उनले भनिन् ।

यो गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन् । यसमा खेम सेञ्चुरी र दीपिका बयाम्बु मगरको स्वर तथा गायक सेन्चुरीकै संगीत अनि शब्द रमेश बिजीले लेखेका हुन् । गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ लोकप्रिय बनेको थियो ।

बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमामा स्वस्तिमा र समाइरासहित रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यो सिनेमाबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

यम थापाको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र सफल निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा लेखेका हुन् । निर्देशक थापाले कथाको परिवेश अनुसार गीत तयार गरिएको बताए । ‘यो गीत कथासँग जोडिएर आएको छ । हामीले यसलाई कथा भन्दा फरक नबनाएर कथालाई अगाडि बढाउने गरी तयार गरेका छौँ । अहिले गीतलाई दर्शकले दिनुभएको मायाले हामी हर्षित भएका छौं’, निर्देशक थापाले भने ।

सिनेमाको कार्यकारी निर्माता प्रदीप भट्टराई तथा निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ, क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ ।