धमाधम छायांकन गरिँदै ‘जलाकी’, धिरज मगर बाहिरिदा सोनम तोप्देनले पाए दोस्रो मौका

धमाधम छायांकन गरिँदै ‘जलाकी’, धिरज मगर बाहिरिदा सोनम तोप्देनले पाए दोस्रो मौका

द सिनेमा टाइम्स
455
Shares

द सिनेमा टाइम्स, काठमाडौं । केहीदिन यता कास्कीका विभिन्न ठाउँमा अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’को धमाधम छायांकन भैरहेको छ । यसैबीच, ‘जलाकी’बाट अभिनेता धिरज मगर बाहिरिएका हुन् । उनले निर्माण टिमसँग सल्लाह गरेर नै सिनेमा छाडेको निर्देशक अशोक थापा मगरले बताए ।

यो सिनेमाको पहिलो चरणको छायांकनमा मुख्य अभिनेताको रुपमा सोनम तोप्देन थिए । उनी अर्को सिनेमा ‘ऐरी’को छायांकन सेटमा एकसन दृश्य खिच्दै गदाई खुट्टा भाँचिएर थलिएपछि जलाकीमा उनको ठाउँमा धिरजको प्रवेश भएको थियो । अहिले सोनम निको भएर काममा फर्केपछि धिरजले सिनेमा छाडेपछि पुनः सोनम नै मुख्य भूमिकामा फर्किएको निर्माण टिमले जानकारी दिएको हो ।

सोनम तोप्देन खुट्टा भाँचिएर थलिए पछि उनलाई निर्माण टिमले विशेष भूमिकाको लागि राख्दै धिरज र उपासनाको रोमान्टिक पोस्टर समेत सार्वजनिक गरेको थियो । अहिले छायांकन हुँदै गर्दा धिरज नै सिनेमामा नरहँदा सोनमलाई उक्त भूमिकामा दोहोरिने मौका मिलेको हो ।

यो सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । उनले निर्देशक अशोक थापा मगरसँगै ‘खुस्मा’पछि दोस्रो पटक सहकार्य गरेकी हुन् । यो सिनेमाबाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमामा उपासना र सोनमसहित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) को अभिनय रहनेछ । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोश्रो र तेश्रो गरि तिन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापा मगरले बताए ।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।