विजय र वर्षा फिचर्ड ‘मालती मंगले’को प्रेमिल भावको गीत ‘सुनैको सपनी’ सार्वजनिक

विजय र वर्षा फिचर्ड ‘मालती मंगले’को प्रेमिल भावको गीत ‘सुनैको सपनी’ सार्वजनिक

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सफल गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको सिनेमा ‘मालती मंगले’को पहिलो गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले मुख्य कलाकार विजय बराल र वर्षा राउत फिचर्ड प्रेमिल भावको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा गायक ढकाल र रचना रिमालको स्वर तथा आनन्द अधिकारीको शब्द रचना अनि उज्वल सागरको संगीत छ । कथावाचन शैलीमा निर्माण गरिएको गीतको भिडियोमा श्रीमान्-श्रीमतीको भूमिकामा रहेका विजय र वर्षाको आपसी प्रेम र समर्पणलाई भिडियोमा उतारिएको छ । यी दुवैको केमेस्ट्री सुन्दर देखिएको छ ।

सार्वजनिक गीतको भिडियोका दृश्यमार्फत निर्देशकले मुख्य पात्रको सम्बन्धलाई दर्शाउँदै कथावस्तुबारे झलक दिन खोजेको देखिन्छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता ढकालले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ऐतिहासिक गीति नाटक ‘मालती मंगले’मा सिनेमा आधारित नरहेको बताए । ‘यो सिनेमा राष्ट्रकविको नाटकमा आधारित होइन । हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो । कथा मात्र नभएर यसलाई सांगीतिक प्रेमकथा पनि भन्न सकिन्छ,’ उनले भने ।

प्रकु पाण्डेयको निर्देशनमा निर्माण भएको सिनेमामा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा निर्देशक पाण्डेय स्वयंको कथा छ भने पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् ।

आगामी बैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको सिनेमाको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह–निर्माता रहेको सिनेमामा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन छ ।