आँचलको जन्मदिनमा ‘एक मुठ्ठी बादल’को टिजर सार्वजनिक

आँचलको जन्मदिनमा ‘एक मुठ्ठी बादल’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
581
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर सिनेमाकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ ।

कवितासँगै टिजरले सिनेमाका मुख्य कलाकारलाई परिचित गराएको छ । निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ । यो कविता सिनेमाकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ ।

सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर सिनेमाको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । सहारा भन्छिन्, ‘यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढि आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता सिनेमाको अभिन्न अंग बनेको छ ।’

अभिनेत्री आँचल शर्माले सिनेमा ‘एक मुठ्ठी बादल’ आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन् । ‘अरु सिनेमामा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो सिनेमाको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो सिनेमा मेरा लागि एकदमै स्पेसल छ,’ उनको भनाइ छ ।

सिनेमामा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्।

निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ ।

सिनेमामा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् । सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।