जर्मनीको ‘ओबरहाउजन’ महोत्सवमा नेपाली छोटो सिनेमा ‘टेस्ट अफ वाटर’ छनोट

जर्मनीको ‘ओबरहाउजन’ महोत्सवमा नेपाली छोटो सिनेमा ‘टेस्ट अफ वाटर’ छनोट

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जर्मनीमा आयोजना हुने प्रतिष्ठित ७२औँ अन्तर्राष्ट्रिय छोटो सिनेमा महोत्सव ‘ओबरहाउजन’मा नेपाली छोटो सिनेमा ‘टेस्ट अफ वाटर’ छनोट भएको छ ।

विश्वभरका सशक्त र सिर्जनात्मक सिनेमा प्रस्तुत हुने महोत्सवलाई छोटो सिनेमा क्षेत्रको महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ । यो सिनेमा ‘चिल्ड्रेन एण्ड यूथ कम्पिटिसन’ अन्तर्गत आधिकारिक छनोटमा परेको हो । यो विधामा विभिन्न पुस्ता र संस्कृतिलाई छुने प्रभावशाली कथा प्रस्तुत गरिन्छ ।

यो छनोटसँगै नेपाली कथा, संस्कृति र सिर्जनात्मक पहिचानलाई विश्व मञ्चमा पुर्याउने अवसर मिलेको निर्माण टिमले जनाएको छ । यसलाई नेपाली सिनेमाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएका सिनेमाका लेखक तथा निर्देशक आयन परियार हुन् । शरद महतोले छायांकन गरेको छोटो सिनेमा निर्माता दिवस श्रेष्ठ, ज्योत्सल राजभण्डारी र प्रेमप्रसाद अधिकारी हुन् ।

यो सिनेमाको कथा एक नौ वर्षका बालक विरेको वरिपरि घुम्छ । अभाव र कठिनाइले भरिएको परिवारमा हुर्किरहेको विरेले एकदिन अपरिचित व्यक्तिको हाते धारा (ह्यान्ड पम्प)बाट पानी पिउँदा पहिले कहिल्यै नचाखेको मिठास र शुद्धता अनुभव गर्छ । त्यसपछि त्यो पानीको स्वादले तानिएर ऊ लुकी-लुकी फेरि त्यहाँ पुग्न थाल्छ । सानो आशा जस्तो लाग्ने त्यो पानीका लागि उसले जोखिम समेत मोल्छ ।

आगामी अप्रिल २८ देखि मे ३, २०२६ सम्म जर्मनीमा आयोजना हुने यो महोत्सवमा सिनेमाको मुख्य पात्र विरेको सानो तर दृढ यात्रामार्फत गरिबीको मौन संघर्ष, बाल्यकालको निर्दोषता र कठोर यथार्थबीच साना चमत्कारको खोजलाई प्रस्तुत गरेको छ ।

यो सिनेमाका निर्माता ज्योत्सल राजभण्डारीले नेपाली झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउनु आफूहरूका लागि गौरवको विषय भएको बताए । अनिमेष सापकोटाको सम्पादन र कृष्ण भण्डारीको कलर रहेको छोटो सिनेमामा आफन्त विक, अनुप डोटेल, सोनिका शाही ठकुरी, चन्द्र नेपाली, कमला पराजुली लगायतका कलाकारको अभिनय रहेको छ ।