महानायक राजेश हमालले पोखरामा गरे १८ डी सिनेमा उद्घाटन

महानायक राजेश हमालले पोखरामा गरे १८ डी सिनेमा उद्घाटन

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कास्कीको पोखरामा मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको हो ।

साहसिक गतिविधिका लागि चिनिएको पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा १८ डी सिनेमाको स्थापना गरिएको छ । जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो । यसको पहिलो शाखा काठमाण्डौंमा छ । दोश्रो शाखाको शुक्रबार पोखरामा महानायक हमालले उद्घाटन गरेका हुन ।

महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गर्दै पोखराले फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए । उद्घाटन पश्चात संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै उनले भने ‘पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै सिनेमा छायांकन हुन्छन् । यो केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो ।’

पोखरामा आफ्नो करियरको तेश्रो सिनेमा ‘देउकी’को छायांकन भएको दिनको सम्झना समेत हमालले गरेका गरेका थिए । महाहनायक हमालले कार्यक्रममा अब बन्ने बालेन सरकारले यस्ता केही नयाँ गतिविधि गर्ने उद्यमीहरुका लागि नयाँ योजनाहरु ल्याएर देशमा रोजगारीको वातावरण बढाउनु पर्ने धारणा राखेका थिए ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार, काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो । उनले काठमाण्डौंको भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए ।

यस १८ डी सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन् । सिनेमा हेरेर दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन । विशेष कुरा के भने, यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्छ ।

यस कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । उनका अनुसार, पोखरेली दर्शकले साहसिकता बाहिरी गतिविधिमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन् ।