निफमा सहभागी हुन ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल आउने

निफमा सहभागी हुन ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल आउने

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी हुन भारतको कल्ट क्लासिक सिनेमा मानिने ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल आउने भएका छन् । आगामी चैत १९ गते निफको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आउने आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेमेडीले जनाएको छ । निर्देशक सिप्पी पहिलो पटक नेपाल आउन लागेका हुन् ।

निफका अध्यक्ष केपी पाठकले कार्यक्रममा निर्देशक सिप्पीले आफ्नो सिनेमा यात्राबारे नेपाली सिनेमाकर्मी र दर्शकमाझ अनुभव सुनाउने बताए । ‘नेपाली-भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको सिनेमा निर्माणको अनुभवले नेपाली मेकरलाई केही जानकारी मिल्ने भएकाले हामीले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं । उहाँले स्वीकार गर्नुभयो,’ उनले भने ।

बलिउडको सफल सिनेमा ‘अन्दाज’ (१९७१) बाट निर्देशकीय यात्रा सुरु गरेका सिप्पीले (शोले)सहित एक दर्जनभन्दा बढी सिनेमाको निर्देशन गरिसकेका छन् । पछिल्लो पटक उनले निर्देशन गरेको सिनेमा ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । त्यसअघि उनले ‘चाँदनी चोक टू चाइना’, ‘ब्लफमास्टर’, ‘सोनाली केबल’, ‘दम मारो दम’ जस्ता एक दर्जनभन्दा बढी सिनेमाको निर्माण समेत गरेका छन् ।

काठमाडौंमा निफको नवौं संस्करण चैत १९ गतेदेखि २३ गतेसम्म हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ सिनेमा देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रमहरू पनि राखिनेछ । पाँच दिनसम्म एआई सिनेमा वर्कसप समेत सञ्चालन हुने आयोजकले जनाएको छ । त्यसमा सहभागी हुन इच्छुकले चैत ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।