द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको दोस्रो निर्देशकिय सिनेमा ‘आ बाट आमा’ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ५१ औं दिने सेलिब्रेसन कार्यक्रम समेत आयोजना गरेको हो । यो कार्यक्रममा निर्माण टिमले सिनेमामा काम गरेका प्राविधिक तथा कलाकार टिमलाई प्रशंसा पत्रसहित सम्मान गरेको थियो ।
यो वर्षको ब्लकबस्टर सिनेमा ‘आ बाट आमा’ले २० भन्दा बढी हलमा ५१ दिन मनाएको छ । निर्देशक चन्द्र पन्तका अनुसार सिनेमाले प्रदर्शनको ५१ औं दिनसम्म करिब साढे १३ करोड व्यापार गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा भने फिल्मको व्यापार १३ करोड ५ लाख आसपास छ ।
प्रचारसहित २ करोडमा निर्माण भएको यो सिनेमाबाट निर्माताले ५ करोडसम्म शेयर पाउन सक्ने देखिन्छ । यस वर्ष १३ करोडमाथि कमाउने ‘परान’पछि यो दोस्रो सिनेमा हो । ‘आ बाट आमा’को व्यावसायिक सफलतापछि यसको दोस्रो भागको निर्माण घोषणा भइसकेको छ । गत फागुनमा अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर दोस्रो श्रृंखलाको घोषणा गरिएको थियो ।
आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको यो सिनेमामा पल स्वयंम् मुख्य भूमिकामा देखिनेछन् भने विपना थापा पनि दोहोरिने सम्भावना उच्च रहेको छ । बाबुआमा र छोराको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘आ बाट आमा’मा पल र विपनासहित प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, रचना गौतम, बेगम नेपाली लगायतको अभिनय रहेको छ ।
निर्देशक चन्द्र पन्त स्वयंको कथा तथा पटकथा लेखन रहेको सिनेमामा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको संवाद लेखन छ । यो सिनेमाको वितरण आरआर फिल्मस्ले गरेको थियो ।



प्रतिक्रिया