द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री बेनिशा हमालले थियटरमा डेव्यु गर्ने भएकी छन् । नेपाली सिनेमामा आफुलाई प्रमाणीत गरिसकेकी बेनिशाले चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित रहेर मञ्चन हुन लागेको नाटकमा उनले अभिनय गर्न लागेकी हुन् । उनको यो डेब्यू नाटक हुनेछ ।
कान्तिपुर फिल्म एकेडेमीको कान्तिपुर थिएटरमा मञ्चन हुने नाटकमा उनले ताराको भूमिकामा अभिनय गर्नेछिन् । एक महिना लामो अष्ट्रेलिया बसाइँपछि नेपाल आएकी उनलाई शनिबार कान्तिपुर एकेडेमीले नाटकमा अनुबन्धित गरेको हो । उनले अबको २ महिना नाटकलाई समय दिनेछिन् । यो बीचमा उनी कुनै सिनेमाको छायांकनमा नजोडिने बताइएको छ ।
नाटकमा अनुबन्धित भएसँगै उनी स्क्रिप्ट अध्ययन र पात्रको तयारीका लागि टिमसँग वर्कसपमा बसिसकेकी छन् । कान्तिपुर थियटरले यसअघि रेखा थापा र विशाल पहारी लगायतका कलाकारहरू अभिनीत ‘मीरा’, जीवन लुइँटेल र सनिशा भट्टराईको डेब्यू नाटक ‘शिरीषको फूल’ तथा उषा रजक र राज न्यौपानेलगायतको अभिनय रहेको ‘महारानीको जात्रा’को सफलतापूर्वक मञ्चन गरिसकेको छ ।
कान्तिपुर थिएटरमा मञ्चन हुने चौथो नाटक ‘सेतो धरती’ हुनेछ । कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीइओ प्रकाश पुरीले लेखक अमर न्यौपानेबाट अधिकार लिएर ‘सेतो धरती’लाई नाटकको रुपमा मञ्चन गर्न लागिएको बताए । उनका अनुसार चैत १३ गते रंगमञ्च दिवसको अवसरमा नाटकको मञ्चन मितिसहित निर्देशक र अन्य कलाकारहरूको बारेमा जानकारी गराइनेछ ।


प्रतिक्रिया