द सिनेमा टाइम्स, काठमाडौं । गत साउनमा छायांकनको तयारीमा रहेको सिनेमा ‘यानीमाया’का निर्देशक हेरफेर भएका छन् । अभिनेता पल शाहले निर्माण गर्न लागेको सिनेमाको गत बैशाख १ गते निर्माण घोषणा हुँदा निर्देशकमा विकास सुवेदी थिए । छायांकनका लागि निर्माण टिम बागलुङको ढोरपाटन समेत पुगेको थियो । तर, अन्तिम समयमा विकास र पलको अन्तरिक मतभेदका कारण छायांकन रोकियो ।
यो सिनेमामा विकासको ठाउँमा अर्का निर्देशक ओम प्रतीक प्रवेश भएको छ । ओम तिनै निर्देशक हुन्, जसले पललाई ‘मोहर’ जस्तो हिट सिनेमा दिएका थिए । यो सिनेमापछि उनीहरूबीच आत्मीय सम्बन्ध बनेको छ । सोमबार ओमले फेसबुकमा पलसँग कागजी सम्झौतापछि खिचेको एक तस्वीर पोस्ट गर्दै आफूले ‘यानीमाया’ निर्देशन गर्न लागेको जानकारी दिएका हुन् ।
यो सिनेमामा विकास निर्देशन हुँदा पलको जोडीको रूपमा मोडल अञ्जना पुन मगरलाई अनुबन्धित गरिएको थियो । विकासले अडिसनबाट उनलाई छनोट गरेका थिए । अब निर्देशक परिवर्तन भएसँगै सिनेमामा अञ्जना हुन्छिन् वा हुँदिनन् भन्ने चासो धेरैमा देखिएको छ । तर, यसबारे निर्माण पक्षले केही खुलाएको छैन् ।
पल शाह फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा अभिनेता पल शाहको मुख्य भूमिका रहनेछ । यसको निर्मातामा चन्द्रज्योति आले पनि रहेकी छिन् । पलले यही सिनेमाबाट निर्माणमा हात हाल्न हालेका हुन् । यसअघि उनले आफ्नो कम्पनीबाट केही म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । अभिनेता पल शाह अब आफ्नो ब्यानरबाट निरन्तर सिनेमा निर्माण गर्ने योजनामा छन् ।


प्रतिक्रिया