द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार हरि लम्साल सिनेमा निर्देशक बन्ने भएका छन् । सिनेमा ‘बा : एक योद्धा’बाट निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । यो सिनेमाको सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको हो । सिनेमामा निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा लेखन छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा सन्तानका लागि एक बाबुले गर्ने त्याग र संघर्षको कथामा आधारित हुने जनाइएको छ । सिनेमामा शिवराम श्रेष्ठको छायाकंन रहनेछ । उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सफल सिनेमा खिचेका थिए । यसैले ‘बा : एक योद्धा’ दृश्यका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।
यो सिनेमाका निर्माता वसन्त लम्साल हुन् । उनले गत वर्ष विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर सौरभ चौधरीको निर्देशनमा एक्सन सिनेमा ‘कर्मा’ निर्माण गरेका थिए । तर, यो सिनेमा व्यावसायिक रुपमा सफल हुन सकेन । ‘बा : एक योद्धा’को कथावस्तु राम्रो लागेपछि लगानी गर्न तयार भएको निर्माता लम्सालले बताएका छन् ।
सिनेमाको छायांकन सुरु गरिए पनि निर्माण पक्षले मुख्य कलाकारहरूको नाम भने गोप्य राखेको छ । दर्शकलाई सरप्राइज दिने उद्देश्यले तत्काल कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्देशक लम्सालले बताए । उनका अनुसार सिनेमाको छायांकन सकिएपछि फस्र्टलुक पोस्टरमार्फत कलाकारहरू सार्वजनिक गरिनेछ ।


प्रतिक्रिया