‘आ बाट आमा २’मा विपना र पल आमा-छोराको भूमिकामा अनुबन्धित

‘आ बाट आमा २’मा विपना र पल आमा-छोराको भूमिकामा अनुबन्धित

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टरमार्फत यस वर्षको ब्लकबस्टर सिनेमा ‘आ बाट आमा’को दोस्रो श्रृंखला निर्माण घोषणा गरिएको थियो । गत आइतबार ५१ औं दिने कार्यक्रम आयोजना गरेको निर्माण टिमले दोस्रो श्रृंखला ‘आ बाट आमा २’को कलाकार अनुबन्धित गर्ने प्रक्रिया सुरु गरेको हो ।

निर्देशक चन्द्र पन्त सोमबार मुख्य कलाकारमा पल शाह र विपना थापासँग एकसाथ लिखित सम्झौता गरेका हुन् । ‘आ बाट आमा’मा विपना र पल आमा-छोराको भूमिकामा थिए । दोस्रो भागमा पनि उनीहरू सोही भूमिकामा देखिने जनाइएको छ । सिनेमामा अनुबन्धित भएपछि विपनाले मिडियासामु खुसी व्यक्त गर्दै दोस्रो भागमा काम गर्दै गर्दा अझ जिम्मेवारी थपिएको महसुस भएको बताइन् ।

त्यस्तै, पलले सिनेमाको दोस्रो भागमा पनि आफूलाई विश्वास गरेकोमा निर्देशक पन्तलाई धन्यवाद दिए । ‘म औंलामा गन्न सकिने टिमसँग मात्र नजिक छु । कुनै निर्देशकसँग म यति नजिक भएको चाहिँ चन्द्र दाइसँग हो । उहाँले मलाई अभिभावक जसरी सिनेमामा काम गराउनुभयो । ‘आ बाट आमा २’मा पनि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

यो सिनेमालाई पहिलो भागभन्दा उत्कृष्ट बनाउनुपर्ने ठूलो चुनौती रहेको निर्देशक चन्द्र पन्तको भनाइ छ । आगामी बैशाखमा छायांकन गरेर दशैंमा रिलिज गर्न लागिएको सिनेमामा पल र विपनाबाहेक अरू कलाकार निश्चित भएका छैनन् ।

सिनेमाको पहिलो भागमा बलिउड अभिनेता प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट, वेगम नेपाली लगायतको पनि मुख्य भूमिका थियो । उनीहरुमध्ये दोस्रो भागमा को-को दोहोरिने भन्ने निर्माण टिमले खुलाएको छैन् ।