द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे)को मुख्य भूमिका रहेको सिनेमा ‘आइएम जितबहादुर’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक सिनेमाको टिजरमा मुख्य पात्रको मनोभाव र संघर्षलाई झल्काइएको टिजरमा साउन्ड र ग्राफिक्स स्तरीय देखिन्छ ।
टिजरमा जितुको पात्रलाई विभिन्न अवस्थामा देखाइएको छ । जहाँ उनी कहिले घाइते त कहिले खुसी र गहिरो पीडामा देखिन्छन् । बंगाली निर्देशक सुभेन्दु घोषको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा जितुको जोडी अभिनेत्री वर्षा राउतसँग बाँधिएको छ । यसमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
कर्मभूमि क्रियसनको ब्यानरमा निर्माण भएको यो सिनेमामा विशेष भूमिकामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नीति शाह पनि देखिनेछन् । भारतीय मुलका अरविन्दको छायांकन रहेको सिनेमाले कलाकार बन्न गाउँबाट सहर आएको एक युवकको संघर्षको कथा प्रस्तुत गर्ने जनाइएको छ ।
सिनेमामा अभिनेता समेत रहेका जितु नेपाल निर्माता तथा सह-निर्मातामा राजन सिंखडा र दीपेन्द्र अधिकारी अनि निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्मातामा छन् । यो सिनेमाको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा भइरहेको छ ।


प्रतिक्रिया