द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार अर्जुन पोखरेलको प्रस्तुतकर्ता रहेको सिनेमा ‘बेहुली’को शुभमुहूर्त गरिएको छ । अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी पहिलो पटक एकसाथ देखिने सिनेमाको बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा धार्मिक विधिअनुसार पूजा गर्दै शुभ मुहूर्त गरिएका हो ।
पारस र दिव्याले पहिलो पटक स्क्रिन सेयर गर्न लागेको सिनेमाको छायांकन यसै साताबाट सुरू हुनेछ । यो सिनेमालाई ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन् । यो उनको दोस्रो निर्देशकीय सिनेमा हुनेछ । उनले यस वर्ष ‘होस्टेल अगेन’ र ‘बाउ भर्सेस छोरा’को पनि निर्माण घोषणा गरेका थिए । तर, उनले तत्कालका लागि दुवै सिनेृमालाई पछाडि सार्दै पहिला ‘बेहुली’ निर्देशन गर्न लागेका हुन् ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता संगीतकार अर्जुन पोखरेल दुई दशकदेखि संगीत क्षेत्रमा सक्रिय उनी यही सिनेमामार्फत निर्माणमा होमिएका हुन् । सिनेमाका लागि गीतहरू उनी आफैंले तयार गर्नेछन् । प्रताप राणा निर्माता रहेको सिनेमामा माधव शर्मा लेखकको रूपमा छन् । माधवले यसअघि ‘होस्टेल ३’को पनि स्क्रिप्ट लेखेका थिए ।
आगामी वर्षको हरितालिका तीजको छेको पारेर भदौ १२ गते प्रदर्शन गर्न लागिएको सिनेमामा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक, समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय रहनेछ । सुशान्तले यही सिनेमाबाट ५ वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन् ।
नरेन्द्र मैनालीको छायांकन (डीओपी) रहने सिनेमामा सुमन थिङ तामाङ कार्यकारी निर्माता तथा दुर्गा खरेल र रमेश सिलवाल सह-निर्मातामा रहेका छन् । शंकर कोइराला क्रिएटिभ निर्माताको रूपमा छन् । सिनेमालाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मा रोशन श्रेष्ठले पाएका छन् । सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन् ।




प्रतिक्रिया