द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाहको लगानीमा निर्माण हुने सिनेमा ‘यानीमाया’को एक पोस्टर सार्वजनिक गर्दै मुख्य अभिनेत्री चिनाइएको छ । निर्देशक हेरफेर भएपछि मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी अञ्जना पुन मगर हट्न सक्ने चर्चा थियो । तर, शुक्रबार सार्वजनिक सिनेमाको पोस्टरबाट अभिनेत्री नफेरिने जानकारी दिइएको हो ।
सार्वजनिक पोस्टरमा पल र अञ्जनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । तर, पल केही गम्भीर र मलिन अनुहारमा देखिएका छन् । अञ्जनालाई भने खुसी मुद्रामा देख्न सकिन्छ । उनले मगर समुदायको परम्परागत पोशाक लगाएकी छन् । पोस्टरले अन्तरजातीय प्रेम र भावनात्मक रूपमा गहिरो सम्बन्धको कथामा सिनेमा आधारित रहेको संकेत गर्छ ।
पहिलो पटक सिनेमामा सहकार्य गर्न लागेका पल र अञ्जनाले यसअघि केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् । यी दुईले अभिनय गरेको ‘मायालाई पानको पात’ गीत सर्वाधिक चर्चित छ । यसबाहेक ‘जान्छौ र लाहुरेको साथैमा’, ‘शतप्रतिशत सही हो’, ‘मैलेभन्दा माया’, ‘बाँध न बाँध मायाले’ लगायतका गीतको भिडियोमा उनीहरूले अभिनय गरेका छन् ।
पल शाह फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन आगामी जेठ १ गतेबाट सुरु हुनेछ । यसमा पल शाह र चन्द्र ज्योती आले निर्माता रहेका छन् । पल यही सिनेमाबाट निर्माणमा होमिन लागेका हुन् । यसअघि उनले आफ्नो कम्पनीबाट केही म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । अब उनी निरन्तर सिनेमा निर्माण गर्ने योजनामा छन् ।



प्रतिक्रिया