प्रकाश र सुहाना फिचर्ड ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

प्रकाश र सुहाना फिचर्ड ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश स्वयंको हो । गीतमा युवायुवतीले एकअर्कासँग गरेको वाचा र प्रेमभावलाई प्रस्तुत गरिएको छ ।

रामजी लामिछानेले कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य जोडी प्रकाश सपूत र सुहाना थापा देखिएका छन् । सिनेमामा दम्पतीको भूमिकामा रहेका उनीहरूलाई भिडियोमा घाँस–दाउरा, चुलोचौको, खेतीपाती गर्दै गरेको देख्न सकिन्छ । दुवैले आकर्षक नृत्य पनि प्रस्तुत गरेका छन् । ग्रामीण परिवेश र त्यहाँको जीवन शैलीलाई भिडियोमा सुन्दर ढंगले देखाइएको छ ।

हरिओम सिने मेकर्सका सुशील पोखरेल लगानी रहेको सिनेमा लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको हो । प्रकाश र सुहानासहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय सिनेमामा देख्न सकिन्छ । यसमा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा संग्रहित चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको सिनेमामा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।