दर्शकले रुचाए ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’

दर्शकले रुचाए ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को ‘गैराघरे काँइली’ले दर्शकको मन जितिरहेको छ । यो गीतलाई युट्युबमा रिलिज भएको एक हप्तामा ११ लाख बढि दर्शकले हेरेका हुन् । यो सिनेमाको प्रचारको लागि रिलिज गरिएको पहिलो गीत हो ।

जनक घर्ती मगरले निर्माण गरेको सिनेमा गीतले एक हप्तामा ११ लाख भ्युज पाएपछि निर्माण पक्ष उत्साहित बनेको छ । निर्माता मगरले आफ्नो सिनेमाको गीत यतिधेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन् । उनी भन्छन्, ‘हाम्रो सिनेमा ‘मितज्य’को गीत ‘गैराघरे काँईली’लाई युट्यूबमा ६ दिनमा १० लाख भन्दा बढि पटक हेरिदिनुहुने यहाँहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद ।’

यो समाचार तयार पार्दासम्म गीतमा २४ हजारभन्दा बढिले लाईक र १३ सय भन्दा बढिले कमेन्ट गरेका छन् । जसमा अधिकांशले गीत र कलाकारको प्रशंसा गरेका छन् । जसमा सौगात मल्लको फरक अभिनय देख्न पाइयो भन्दै दर्शक उत्साहित बनेका छन् । पछिल्लो समय एकै खाले भुमिका देखिएको भन्दै आलोचनाको शिकार भएका सौगातलाई यो सिनेमामा फरक पाउने अपेक्षा गरेका छन् ।

दर्शकको सकरात्मक प्रतिक्रियाले निर्देशक अनिल बुढा मगर उत्साहित देखिन्छन् । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ । जसमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउँले पहिरनमा नै नाचेका छन् ।

दयाहाङलाई गीतमा कथा अनुसार प्रस्तुत छन् । यो गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर तथा शब्द र संगीत गायक मल्लकै रहेको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी गीतमा हेर्न सकिन्छ ।

अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको लगानी रहेको सिनेमामा दयाहाङ, सौगात र तेरियासहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ । यो तेरियाको अभिनेत्रीका रुपमा डेब्यु सिनेमा हो ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सम्पादन् लोकश बज्राचार्य, छायांकन शिशिर बिशंखे, मुख्य सहायक निर्देशन फिरोज खड्का, द्वन्द्व निर्देशन प्रभात विष्ट, संगीत श्रीकृष्ण बम मल्लको छ । आरआर फिल्म्स वितरक रहेको सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।