रक्षा बन्धनको अवसरमा भदौ १२ गते नीता ढुंगानाको ‘पार्वती’ रिलिज घोषणा

रक्षा बन्धनको अवसरमा भदौ १२ गते नीता ढुंगानाको ‘पार्वती’ रिलिज घोषणा

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशनमा निर्माण हुने सिनेमा ‘पार्वती’मा बाल गायक अशोक दर्जीले अभिनय गर्ने भएका छन् । आइतबार निर्माता कम्पनी नीता फिल्मस्‌ले थिम पोस्टर सार्वजनिक गर्दै सिनेमामा अशोकको मुख्य भूमिका रहने जानकारी दिएको हो ।

सिनेमामा नीता स्वयंको पनि अभिनय रहनेछ । नीता र अशोकले यसअघि सिनेमा ‘मन बिनाको धन’मा काम गरेका थिए । नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय यसमा रहने छ । चैत २४ गतेबाट छायांकन सुरु हुने सिनेमालाई रक्षा बन्धनको अवसर पारेर भदौ १२ गते प्रदर्शनमा ल्याउने घोषणा समेत गरिएको छ ।

निर्देशक ढुंगाना स्वयंको कथा तथा पटकथा लेखन रहेको सिनेमाको संवाद शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन तथा साहिल खानको सम्पादन रहने सिनेमामा डान्स ग्रुप ‘कार्टुन क्रु’का सरोज अधिकारी क्रियटिभ निर्देशकको रूपमा छन् । प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

नीताले सिनेमामा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । सिनेमाबारे उनी भन्छिन्, ‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’

यो सिनेमामा नीता ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिने अनुमान केही समय अगाडी सार्वजनिक पोस्टरबाट गरिएको थियो ।