द सिनेमा टाइम्स, काठमाडौं । यतिबेला पूर्वी नेपालको झापामा सिनेमा ‘पाँच पाण्डव’को धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले सिनेमाको कलाकार टिममा थप दुई पात्रहरूलाई प्रवेश गराएको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमामा अभिनेता प्रशान्त ताम्राकार र टिकटकर तथा मोडल इभा गिरीको प्रवेश भएको हो । ठूलो लगानी र नाम चलेका कलाकारका कारण चर्चामा रहेको सिनेमा छायांकनमा उनीहरू जोडिएसँगै क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौला बताउँछन् ।
सिनेमाका मुख्य ‘पाँच पाण्डव’को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् । यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र रजनी गुरुङ छन् । सिनेमाको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई सोसल ड्रामा भएको लेखक सुशील पौडेलले बताए ।
सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिनेमालाई उत्कृष्ट बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन । ‘हामीसँग हरिवंश दाइ जस्ता दिग्गज कलाकारदेखि नयाँ पुस्ताका प्रिय कलाकारहरू हुनुहुन्छ । यो यस वर्षकै प्रतिक्षित सिनेमा बन्नेमा हामी ढुक्क छौं,’ श्रेष्ठले भने ।
नवीनले यसअघि सिनेमा ‘लाज शरणम्’ निर्माण गरेका थिए । सिनेमाको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । ४० दिनको छायांकन तालिका तय गरिएको सिनेमाको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।
कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको सिनेमालाई श्याम तामाङले खिच्दै छन् । प्राविधिक रूपमा पनि ‘पाँच पाण्डव’ विशेष हुने देखिएको छ । दर्शकले यो सिनेमामा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन् । म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको अत्याधुनिक डल्बी एट्मस साउन्ड स्टुडियोमा यसको साउन्ड डिजाइन र मिक्सिङको काम हुने निर्माण टिमले जनाएको छ ।


प्रतिक्रिया