अनमोलको जन्मदिनमा ‘बाटुलो जुन’को रोमान्टिक पोस्टर सार्वजनिक

अनमोलको जन्मदिनमा ‘बाटुलो जुन’को रोमान्टिक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘बाटुलो जुन’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार अनमोलको जन्मदिनको अवसर पारेर सिनेमाको रोमान्टिक पोस्टर सार्वजनिक गर्दै आगामी बडादशैंको फूलपाती अर्थात् असोज ३० गतेलाई रिलिज मिति घोषणा गरिएको हो ।

सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको सिनेमाको पोस्टरमा अनमोल र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमीमा राखिएको पोस्टरमा अनमोलले एक हातमा तत्कालिन परिवेशको प्रकाशको प्रतिविम्व राँको बोक्दा अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समाएका छन् ।

पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनमा माया गर्नेहरूको लागि उपहार भन्दै ‘दशैंमा भेटौंला’ सन्देश छोडेका छन् । करियरको सुरूवातदेखि नै दर्शक तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेमप्रति आभार प्रकट गर्दै अनमोलले ‘आफु सधैं राम्रो काममा ताली र कमजोरीमा खबरदारीको प्रतिक्षामा रहने’ बताए ।

ग्रामिण परिवेशको प्रेमकथा जोडिएको सिनेमाको निर्मात्री जीया केसी र भविष्य खड्का हुन् । अनमोल विगतका सिनेमामा देखिँदै आएको भन्दा विल्कुल फरक अवतारमा प्रस्तुत छन् । यो सिनेमालाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन् । भुवन आफैपनि सिनेमामा मुख्ख भुमिकामा छन् ।

सिनेमामा भुवन, अनमोल र प्रिन्सीसहित न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ । यो सिनेमालाई काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ ।

सिनेमामा तेजबिक्रम केसी कार्यकारी निर्माता तथा लेखक सामिप्यराज तिमिल्सेना र सरिन पोखरेल हुन् । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको सिनेमामा छायांकन राजेश श्रेष्ठको रहेको छ । सिनेमाको करिब १० प्रतिशत छायांकन बाँकी रहेकाले नयाँवर्ष २०८३ को छेकोमा पोखरामा खिचिने कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।